एसिया छनोटमा नेपालको सुखद सुरुवात

स्वर्णिम खबर
१३ कार्तिक २०८०, सोमबार १२:३२

१३ कार्तिक, काठमाडौँ । टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सोमबार भएको आफ्नो पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै नेपालले बिजयी सुरुवात गरेको हो । सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १६ दशमलब ३ ओभरमा २ विकेटले गुमाएर भेटायो । नेपालको लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रनको योगदान दिएका थिए । आक्रमक ब्याटिङ गरेका भुर्तेलले ४८ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए । त्यसैगरी आरिफ शेखले २७ रन बनाउँदा कप्तान रोहितकुमार पौडेल ३५ रन र कुशल मल्ल ६ रन बनाउँदै नटआउट रहे ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । सिंगापुरका लागि रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान गरे भने आर्यवीर चौधरीले ३७, मनप्रित सिंहले २४ र अक्ष पुरीले १३ रन जोडे । सिंगापुरलाई सस्तै समेट्न अभिनाश बोहोराले सर्वाधिक ३ विकेट लिँदा सन्दिप लामिछाने, करण केसी र गुल्शन झाले समान २–२ विकेट लिएका थिए ।


अब, दोस्रो खेलमा नेपालले भोली मलेसिया र १६ गते बिहीवार ओमानसँग खेल्नेछ । नेपाल रहेको समूह ’ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ’बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउने छन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*