वर्षे अधिवेशन अन्त्य गर्ने बागमती प्रदेश सरकारको निर्णय
२३ असोज, हेटौँडा । बागमती प्रदेश सरकारले वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
बागमती प्रदेश मन्त्रिपरिषद्को मंगलबारको बैठकले राती १२ बजेदेखि प्रदेश सभाको १२ औं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन कार्यविधी २०८० स्वीकृत गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश भित्र स्थायी बसोबास गर्ने आफ्नै स्वामित्वको जग्गामा घर भएका दलित, सिमान्तकृत, विपन्न, पिछडिएका बस्तीमा खरको छाना विस्थापन गर्न प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजान लागिएको हो ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशका तीन जिल्लामा संघीय लगानीमा निर्माण हुने एकिकृत बस्ती तथा आवास कार्यक्रम कार्यान्वयन गर्ने निर्णण गरेको छ । मकवानपुर, चितवन र धादिङका चेपाङ, माझि, बनकरीया, बोटे समुदायका लागि चालू आर्थिक वर्षमा १२ करोड विनियोजन भएको छ । प्रत्येक घरधुरीले ४ लाख अनुदान पाउने मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । साथै, बैठकले प्रदेश प्रहरी भवन निर्माणका लागि सम्बन्धित कार्यालयलाई नै अख्तियार प्रदान गरेको छ ।