आत्मनिर्भर प्रदेश बनाउनु प्रदेश सरकारको नीतिः मुख्यमन्त्री जम्कट्टेल
२० असोज, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आत्मनिर्भर प्रदेश बनाउने नीति प्रदेश सरकारको रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकार नीतिगत रुपमा नै नयाँ ढंगले अगाडि बढ्न खोजेको बताउनुभयो । बागमती प्रदेश उद्योग परिसंघको साधारणसभा एवम् दोश्रो अधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्नुहुँदै उहाँले गर्न सकिने र देख्न सकिने काममा मात्र प्रदेश सरकार अग्रसर हुने उल्लेख गर्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशभित्र लगानीको सम्भावना खोजी गर्न व्यवसायीहरुलाई छलफलमा आउन समेत आग्रह गर्नुभयो ।
मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्र र चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउन प्रदेश सरकारले सक्दो पहल गर्ने पनि उहाँले बताउनुभयो । निर्वाहमुखी कृषि गरिरहेका कृषकहरुलाई व्यावसायि करण गरेर लग्नुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलले जोड दिनुभयो । उहाँले समुदायमा आधारित उत्पादनको मोडेलमा जानुपर्ने बताउनुभयो ।
यसैगरी कार्यक्रममा बोल्नुहुँदै नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारको नीति औद्योगिक मैत्री नभएको बताउनुभयो । राजनीतिक स्थिरता नहुँदा व्यवसायीहरु मारमा परेको उहाँको भनाई थियो । प्रदेश सरकारको अर्थमन्त्री समेत रहि सक्नुभएका नेता थपलियाले तीन तहको सरकार उद्योग मैत्री हुनुपर्ने बताउनुभयो । एमाले सधै उद्योगीहरुको हकहितको लागि लड्ने पार्टी भएको नेता थपलियाले दाबी गर्नुभयो ।
कार्यक्रममा उद्योगी, व्यवसायीहरुले औद्योगिक क्षेत्र घोषणा गर्ने तर कार्यान्वयन नगरेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका थिए । प्रदेशभित्र उद्यमशीलताको विकास गरी राजश्व वृद्धि गर्न प्रदेश सरकारसंग सहकार्यको लागि आफुहरु तयार रहेको समेत व्यवसायीहरुले बताएका थिए ।