भारतसंग हारेसंगै एसियन गेम्समा नेपाली क्रिकेट टोलीको यात्रा टुंगियो
१६ असोज, काठमाडौँ । १९ औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोली क्वार्टरफाइलमा पराजित भएको छ ।
युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा भएको खेलमा भारतले दिएको २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो । नेपालले ९ विकेट गुमाएर १ सय ७९ रन मात्रै बनायो । नेपाली ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न सकेनन् । यसअघि भारतले यशस्वी जैसवालको शतकको मद्धतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । यसैबीच नेपाली टिमका कप्तान रोहितकुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देसाईले भारतलाई केही रन बढी दिएका कारण खेल हार्न पुगेको प्रतिक्रिया दिएका छन् । प्रशिक्षक मोन्टीले एसियाडको यात्रामा नेपालले क्रिकेटको ब्रान्ड देखाएको र गर्व लागेको बताउनुभयो ।
कप्तान रोहितले फिल्डिङमा नेपालले आफ्नो स्तर अनुसार खेल्न नसकेको स्वीकार गर्नुभयो । सन्दिप जोरा र दीपेन्द्र सिंह ऐरी क्रिजमा हुँदा सम्म जित्नेमा आशावादी भएपनि उनीहरुको विकेट जानु नै टर्निङ प्वाइन्ट भएको कप्तान रोहितको प्रतिक्रिया थियो ।
यो नेपाल र भारतबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल हो । यसअघि नेपालले एसिया कपमा भारतसँग पहिलो एकदिवसीय खेल खेलेको थियो । यो हारसँगै एसियन गेम्समा नेपाली क्रिकेट टोलीको यात्रा पनि टुंगिएको छ ।