प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश
१४ असोज, हेटौँडा । बागमती प्रदेशसभामा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश भएको छ ।
आइतबार बसेको प्रदेशसभा बैठकमा संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले विधेयक पेश गर्नुभएको हो । विधेयक माथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद्हरुले विधेयक स्वागतयोग्य भएको तर कार्यान्वयनमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताएका थिए । तामाङ, नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाउँदा अन्य जातीका भाषाहरु लोप हुने अवस्था आउन नदिन उनीहरुले सरकारको ध्यानाकर्षण समेत गराएका थिए । सांसद्हरुले उठाएका जिज्ञाशहरुको जवाफ दिंदै मन्त्री महर्जनले संघीयताको मुल मर्म अनुरुप नै सो विधेयक संसद्मा आएको बताउनुभयो । सो विधेयक संसद्बाट पारित हुँदा संघीयता अझ मजबुत हुने मन्त्री महर्जनको भनाई थियो । भाषालाई व्यवस्थित गर्न विशेषज्ञको समुह समेत राख्ने उहाँले बताउनुभयो । यसअघि प्रदेशसभामा सांसद्हरुले शुन्य समयमा बोल्दै संसदीय समितिले अझै पूर्णता पाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । प्रदेशसभाको अर्को बैठक सोमबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको छ ।