असोज २३ गतेदेखि नागश्वतीमा टोलस्तरीय फुटबल प्रतियोगिता हुने
१० असोज, हेटौँडा । नवज्योति टोल विकास संस्था हेटौंडा–७, नागस्वतीको आयोजनामा आगामी असोज २३ गते देखी २७ औ टोलस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
हरेक बर्ष बिजयादशमीको अवसर पारेर आयोजना गरिंदै आएको यस प्रतियोगितालाई यो पटक पनि आयोजना गर्न लागिएको हो । बुधबार पत्रकार सम्मेलन मार्फत् प्रतियोगिताको तयारीको बारेमा खेल संयोजक सुशील सुबेदीले जानकारी दिनुभएको थियो । नागस्वतीस्थित नवज्योति माविको खेल मैदानमा हुने प्रतियोगिता कात्तिक ३ गतेसम्म सञ्चालन हुने र करिब १२ वटा टोली सहभागी रहने अनुमान गरिएको प्रतियोगिताका आर्थिक संयोजक राजु कार्कीले बताउनुभयो । प्रतियोगिता सहभागी टोली दुई समूहमा विभाजन गरी लिग चरणमा खेलाइने उहाँले बताउनुभयो । प्रतियोगिताको विजेताले नगद ५३ हजार रुपैयाँसहित खसी प्राप्त गर्नेछ भने उपविजेताले खसीसहित विभिन्न उपहार प्राप्त गर्ने जनाईएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई विधागत रुपमा पुरस्कारको व्यवस्था समेत गरिएको छ । प्रतियोगीतामा वडा नम्बर ७ बसोबास गर्ने खेलाडी र टिमले मात्र सहभागी हुन पाउने छ । खेलका लागी अनुमानित ५ लाख खर्च हुने आयोजकले जनाएको छ ।