नेपाल यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा, माल्दिभ्स ४–१ ले पराजित

स्वर्णिम खबर
८ आश्विन २०८०, सोमबार १६:२१

८ असोज, काठमाडौँ । माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपाल यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमवार दशरथ रंगशालामा माल्दिभ्सलाई फराकिलो गोल अन्तरले पराजित गर्दै नेपालले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । पहिलो हाफमै २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । खेलको १७ औं मिनेटमा प्रशान्त लक्समले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएका थिए । डिबक्स भन्दा निकै टाढाबाट प्रशान्तले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । समिर तामाङले ३० औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाए । दोस्रो हाफमा ५८ औं मिनेटमा लायन रसिदले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने प्रयास गरेपनि सफल हुन सकेनन् । खेल सकिन दुई मिनेट बाँकी रहँदा निराजन धामीले गोल गर्दै नेपालको जित लगभग सुनिश्चित गरेका थिए भने दोस्रो हाफको इन्जुरी समयमा निराजन धामीले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई जित दिलाएका हुन् । पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्सलाई हराउनै पर्ने दबाब थियो । योसँगै माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले फाइनलमा प्रवेशका लागि अब भारत वा भुटानसँग खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*