साफ यू–१९ मा नेपाल पाकिस्तानसंग पराजित
४ असोज, काठमाडौँ । १९ वर्षमुनिको साफ च्याम्पियनशिपमा आयोजक नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ ।
बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको समूह ’ए’ को खेलमा नेपाल पाकिस्तानसँग १–० गोलले पराजित भयो । पाकिस्तानका लागि अली जफरले खेलको ७६ औँ मिनेटमा गोल गरे । यो जितसँगै पाकिस्तानले ३ अङ्क जोडेको छ । नेपालले अब शनिवार माल्दिभ्ससँग खेल्ने छ ।
यसअघि बिहिबार दिउँसो भएको समूह ’बी’ को खेलमा भारतले बङ्गलादेशलाई पराजित गरेको छ । दशरथ रङ्गशालामै भएको खेलमा भारत १–० गोलअन्तरले बिजयी भएको हो ।
यो प्रतियोगिताको समूह ’ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । यस्तै समूह ’बी’ मा भारत, बङ्गलादेश र भुटान छन् । २ वटा समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।