बागमती प्रदेशः बजेट सम्बन्धि दुईवटा विधेयक प्रमाणीकरण, कार्यान्वयनको बाटो खुल्यो
३१ असार, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बजेट सम्बन्धि दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शर्माले आइतबार विधेयक प्रमाणीकरण गर्नुभएको हो । बागमती प्रदेश सभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रदेश प्रमुुख शर्माले प्रमाणीकरण गर्नुभएको हो । यसैगरी आर्थिक वर्ष २०८०÷०८१ को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले बताउनुभयो । विधेयक प्रमाणीकरण भएसंगै प्रदेश सरकारलाई अब बजेट कार्यान्वयनका लागि बाटो खुलेको छ । आगामी आर्थिक वर्षको बजेट साउन १ गतेदेखि कार्यान्वयन हुनेछ ।