आर्थिक वर्ष २०७९÷०८० मा हेटौंडा सिमेन्ट उद्योगलाई ११ करोडको घाटा
६ असार, हेटौँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९÷८० मा पनि ११ करोड १५ लाख रुपैयाँ घाटा बेहोरेको छ ।
आर्थिक अभाव झेल्दै आएको उद्योगले आर्थिक वर्ष २०७४÷७५ पछि निरन्तर घाटा बेहोर्दै आएको छ । उद्योग अहिलेसम्म ९० करोड रुपैयाँको घाटामा चलिरहेको छ । आर्थिक वर्ष २०७९÷८० मा एक अर्ब दुई करोड ३९ लाख ८४ हजार आठ सय ४० आम्दानी गर्न सफल रहेको उद्योगले एक अर्ब १३ करोड ५५ लाख ४८ हजार दुई सय ३५ खर्च गरेको थियो । यो आर्थिक वर्षमा उद्योगलाई ११ करोड १५ लाख ६३ हजार तीन सय ९५ रुपैयाँ घाटा भएको महाप्रबन्धक वसन्तराज पाण्डेले बताउनुभयो । कच्चा पदार्थको अभाव र पुरानो ऋण तिर्न नसक्दा उद्योग बारम्बार बन्द हुँदै आएको छ । सिमेन्ट उत्पादनका लागि चाहिने कोइला अभावले उत्पादनमा समस्या आइरहेको महाप्रबन्धक पाण्डेले बताउनुभयो । उद्योगलाई गतिशील बनाउन उद्योग मन्त्रालयमा योजना प्रस्तुत गरे पनि कुनै जवाफ नआएका कारण अगाडि बढ्न कठिन भएको उहाँको भनाई छ । उद्योगले एक महिनापछिसोमवारदेखि पुनः क्लिङ्कर उत्पादन सुरु गरेको छ । अब तीन महिनाका लागि उद्योगमा कच्चा पदार्थ तयारी रहेको बताउँदै तीन महिनाको उत्पादनले उद्योग बन्द भएको बेला धान्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । महाप्रबन्धक पाण्डेका अनुसार अहिले दैनिक १५ हजार बोरा सिमेन्ट उद्योगबाट उत्पादन तथा बिक्री भइरहेको र उद्योगमा ३० हजार मेट्रिक टन सिमेन्ट भण्डारण रहेको छ । पछिल्लो समय बजारमा आएको आर्थिक मन्दीले सिमेन्टको बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको उहाँले बताउनुभयो । उद्योगको वार्षिक उत्पादन क्षमता दुई लाख २५ हजार मेट्रिक टन रहेको छ ।