बिजय युथ गोल्डकपको दोश्रो संस्करण असार ५ गतेदेखि हुने
२ असार, हेटौँडा । बिजय युथ गोल्डकपको दोश्रो संस्करण असार ५ गतेदेखि हुने भएको छ ।
शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै बिजय युथ क्लबले प्रतियोगिताको बारेमा जानकारी गराएको हो । खेलाडीहरुको बीचमा भातृत्वको सम्बन्ध विकास गर्न फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष सुदिप राजबाहकले बताउनुभयो । असार १५ गतेसम्म हुने प्रतियोगिता हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ । प्रतियोगितामा आयोजक सहित १६ वटा टिमको सहभागिता रहेको क्लबका अध्यक्ष राजबाहकले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले नगद २ लाख र उपबिजेताले नगद १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । त्यसैगरी सर्वोत्कृट खेलाडीलाई ५ लाख बराबरको बिमा, नगद १० हजार, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही ५ हजार दिइने क्लबका कोषाध्यक्ष कृष्ण ढुंगानाले बताउनुभयो । प्रतियोगिताको अनुमानित लागत १३ लाख रहेको छ । असार ५ गते हुने उद्घाटन खेल एफसी बिजय युथ र अग्रसर युथ क्लबबीच हुने आयोजकले जनाएको छ । दुई वर्ष अगाडि फेरष्टीमा भएको पहिलो संस्करणको उपाधि बिजय युथ क्लबले जितेको थियो ।