बागमती प्रदेशः विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत
९ जेठ, हेटौँडा । बागमती प्रदेश सभामा विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको सम्बन्धमा प्रतिवेदन प्रस्तुत भएको छ ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिह लामाले प्रदेश सरकारको तर्फबाट प्रस्तुत हुने उक्त विधेयक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । उक्त प्रतिवेदनमा सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि प्रदेशभित्र गुणस्तरीय स्वास्थ्य सेवाको प्रवाह साथै शिक्षालाई दक्ष उत्पादनमुलक बनाउने र रोजगारीलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै लैजाने उद्देश्य रहेको मन्त्री लामाले बताउनुभयो । उहाँले प्रदेशका विपन्न नागरिकहरुलाई आर्थिक आयआर्जनतर्फ कृषि उद्यमी र उत्पादनको लागि प्याकेज कार्यक्रम सञ्चालन गर्ने र साना उद्यमीहरुलाई उद्योग सञ्चालनको लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेतर्फ जुोड दिनुभयो ।
साथै प्रदेशमा बाढीपहिरोबाट प्रभावित नागरिकहरुलाई तत्काल उद्धार गरी राहत वितरण गर्ने कार्यलाई प्रदेश सरकारले सम्बन्धित जिल्ला प्रशासनमार्फत् समन्वय गरेर उद्दार कार्यलाई तीव्रता दिने नीति तर्जूमा गरेको मन्त्री लामाले स्पष्ट पार्नुभयो । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि बुधबार देखि छलफल हुने सभामुख भुवन पाठकले बताउनुभयो । प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।