विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता विगतकै नीतिको निरन्तरताः सभापति लामिछाने
२५ वैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले सरकारले संसदमा प्रस्तुत गरेका विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता विगतकै नीतिको निरन्तरताको रूपमा रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजित विधेयक २०८० को सिद्धान्त र प्राथमिकता छलफलमा सांसद लामिछानेले अहिले अर्थतन्त्रमा देखिएका समस्यालाई पुरानै शैलीका अव्यावहारिक सिद्धान्त तथा प्राथमिकताले समाधान गर्न नसक्ने बताउनुभयो । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता विगतका असफल आर्थिक नीतिको निरन्तरता मात्र नभई यसले नेपाली समाजको आजको समस्याको समाधान नदिनेसमेत लामिछानेले दाबी गर्नुभयो । विद्यमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौती बाह्य कारणले मात्र नभई आन्तरिक कारणले बढी सिर्जना भएको पनि उहाँको भनाइ छ ।
आउँदो आर्थिक वर्षको बजेटमार्फत कार्यान्वयनमा ल्याउनुपर्ने केही विषयबारे पनि लामिछानेले संसदमार्फत सरकारलाई सुझाव दिनुभएको छ ।
सार्वजनिक सेवा प्रवाहमा प्रविधिको प्रयोग बढाउनुपर्ने, ई–गभर्नेन्सलाई राष्ट्रिय प्राथमिकताको योजनासहित कार्यान्वयन गरिनुपर्ने, विदेशी लगानी प्रोत्साहन गर्नुपर्ने र लगानीमैत्री वातावरण बनाउनका लागि आउँदो तीन महिनाभित्र विभिन्न ऐन संशोधनका लागि संसदमा दर्ता गरिसक्नुपर्ने सुझाव पनि उहाँको छ ।