नेपाल एसिया कपमा स्थान बनाउन सफल
१९ वैशाख, काठमाडौँ । नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा स्थान बनाएको छ ।
नेपाल च्याम्पियनका साथ एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको हो । नेपालले सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो । जितको लागि १ सय १८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झा ८३ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनमा अविजित रहे । गुलशनको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । उनले ७५ बलमा अर्धशतक पुरा गरेका हुन् । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमा १ सय १७ रनमा अल आउट भएको थियो । सोमबार वर्षाको कारण २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा मंगलबार ११ रन जोड्दै युएई १ सय १७ रनमा अल हुन पुगेको थियो । नेपालको जितमा स्पिनर ललितनारायण राजवंशीलेसर्वाधिक ४ विकेट लिए । सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिए । त्यस्तै सोमपाल कामी र गुलशन झाले सामान एक विकेट लिए । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान हुनेछन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।