कतारलाई हराउँदै नेपाल समुह बिजेता बन्यो, सन्दिप लामिछानेले लिए ५ विकेट

स्वर्णिम खबर
१४ बैशाख २०८०, बिहीबार १५:४१

१४ वैशाख, हेटौँडा । एसीसी प्रिमियर कपमा समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीवार भएको खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको हो । नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको कतार २५ ओभर १ बलमा ८९ रन बनाउँदा अलआउट भयो । कतारका जहीर इब्राहिम र खुर्रम शहजादले समान १५÷१५ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिँदा सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ४० ओभर ३ बलमा १ सय ५७ रन मात्र बनाउन सकेको थियो । ब्याटिङमा खराब सुरुवात गरेको नेपालको लागि सन्दीप लामिछानेले सर्वाधिक नटआउट ४२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले २७ रन बनाएका थिए ।


नेपाल ४ खेलमा ७ अङ्कसहित समूह विजेता बनेको हो । नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो भने तेस्रो खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो । यही समूहबाट ओमानले पनि सेमिफाइनलमा स्थान बनाएको थियो ।


सेमिफाइनल खेल शनिवार हुनेछ । यस्तै फाइनल सोमवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*