पिएनजी विरुद्ध नेपालको सहज जीत, विश्वकप क्वालिफायर नजिक
२९ फागुन, काठमाडौँ । घरेलु टिम नेपालले सोमबार आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार जित निकालेको छ ।
९६ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो । ७.४ ओभरमा एक विकेटको क्षतिमा नेपालले लक्ष्य पूरा गर्दै ९ विकेटको जित निकालेको हो । नेपालका लागि आशिफ शेखले अर्धशतक बनाएका हुन् । उनले २१ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाएर अविजित रहेका थिए । त्यस्तै, कुशल मल्ल १२ रनमा अविजित रहेका थिए । नेपालका लागि कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाएका हुन् ।
यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले खराब प्रदर्शन गर्दै नेपाललाई झिनो लक्ष्य दिएको हो । पपुवा न्युगिनीले ३२ ओभरको समाप्तिमा सबै विकेटको क्षतिमा ९५ रन बनाएको थियो ।
यो जितसँगै नेपाल विश्वकप छनोटको नजिक पुगेको छ । नेपालले ३५ खेलमा ३८ अंक जोडेको छ । नेपाल चौथो स्थानमा छ । नेपालले अब लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा आउँदो बिहीबार यूएईसँग खेल्नेछ । यो खेल जितेमा नेपाल सिधा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ । नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता सुरक्षित गरिसकेको छ ।