यूएईमाथि नेपालको कीर्तिमानी जीत, एकदिवशीय मान्यता कायम
२८ फागुन, हेटौँडा । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमाथि १ सय ७७ रनको फराकिलो जित निकालेसँगै नेपालको एक दिवसीय मान्यता कायम रहेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा नेपालले भ्रमणकारी टोली युएईलाई हराउँदै लिग तालिकाको चौथो स्थानमा उक्लिएसँगै नेपालको एक दिवसीय मान्यता जोगिाएको हो । नेपालले आइतबारको खेलपछि ३४ खेलमा ३६ अंक जोड्न सफल भएको हो । पराजय व्यहोरेको युएई भने समान खेलमा ३१ अंकका साथ छैटौं स्थानमा छ । नेपालले प्रश्तुत गरेको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएई २२ दशमलब ५ ओभरमा ७१ रन मै समेटियो । नेपालका लागि ललित नारायण राजवंशीले सर्वाधिक ५ विकेट लिएका थिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४९ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४८ रन जोडेको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले १ सय १२ बलमा नौ चौकाको मद्दतमा सर्वाधिक ७७ रन बनाएका थिए । यस जितसँगै शीर्ष ३ मा रहँदै विश्वकप छनोटका खेल्ने नेपालको सम्भावना कायमै छ । लिगमा सोमवार नेपाल र पिएनजीबीच खेल हुनेछ । सिरिजको अन्तिम खेल चैत्र २ गते बिहीवार युएईसँग हुनेछ ।