लिग–२ सिरिज जित्ने खेलाडीलाई सरकारले जनही २ लाख दिने

स्वर्णिम खबर
११ फाल्गुन २०७९, बिहीबार १७:५३

११ फागुन, काठमाडौँ । सरकारले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुलाई भेटेसंगै प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिकोणात्मक सिरिज जितेका सम्पूर्ण क्रिकेट खेलाडीहरुलाई प्रोत्साहनस्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गर्नुभयो । त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले ४ वटै खेल जितेर सिरिज क्लिन स्विप गरेको थियो । नेपालले लिग–२ को त्रिकोणात्मक श्रृंखलामा पहिलो पटक क्लिन स्विप गरेको थियो ।
यसैबीच नेपाल क्रिकेट संघ क्यानले लिग–टु अन्तर्गत अर्को हप्ता युएईमा हुने त्रिकोणात्मक सिरिजका लागि टोलीका सदस्यहरुको नाम सार्वजनिक गरेको छ । टिममा क्रिकेटर सन्दीप लामिछाने परेका छैनन् । नेपालले फागुन १५ गते पपुवा न्युगिनीसँग खेलेर आफ्नो युएई भ्रमणको शुरुवात गर्नेछ । यस्तै फागुन १८ मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । फागुन १९ गते पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले युएई भ्रमणको अन्तिम खेलमा फागुन २२ गते घरेलु टोली युएईसँग खेल्नेछ ।
युएई भ्रमणमा जाने नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र श्याम (मौसम) ढकाल रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*