मकवानपुर गोल्डकपको उपाधि मनाङलाई

स्वर्णिम खबर
१० फाल्गुन २०७९, बुधबार १८:४५

१० फागुन, हेटौँडा । ५ औं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता २०७९ को उपाधि मनाङ मस्र्याङग्दी क्लबले जितेको छ ।
बुधबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाइनलमा हिमालयन शेर्पालाई १–० गोलअन्तरले पराजित गर्दै मनाङ च्याम्पियन भएको हो । उपाधिसंगै मनाङले नगद १५ लाख सहित शिल्ड, मेडल प्राप्त गरेको छ भने उपबिजेता बनेको हिमालयन शेर्पाले नगद १० लाख सहित शिल्ड मेडलमै चित्त बुझायो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दोश्रो हाफको ७८ औं मिनेटमा मनाङका रोशन रानामगरले गरेको गोल नै निर्णायक बन्यो । उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर मनाङका दिप कार्की, उत्कृष्ट डिफेन्डर हिमालयन शेर्पाका अमृत श्रेष्ठ, उत्कृष्ट मिडफल्डर मनाङका कमल थापा, उत्कृष्ट फरवार्ड शेर्पाका योमि र उत्कृष्ट प्रशिक्षक मनाङका किरण श्रेष्ठ घोषित भए । उनीहरुले जनही नगद २५ हजार प्राप्त गरेका छन् । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी मनाङका कप्तान एवम् गोलकिपर दिप कार्की घोषित भए । उनले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले सौजन्य गरेको बुलेट बाइक प्राप्त गरेका छन् । माघ २८ गतेबाट सञ्चालन भएको प्रतियोगितामा एक विदेशी क्लबसहित १२ टोलीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*