मकवानपुर गोल्डकपः उपाधि जित्नेमा मनाङ र हिमालयन शेर्पा दुबै टोली विश्वस्त
९ फागुन, हेटौँडा । ५ औं संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।
हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने फाइनल खेलमा ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दीले हिमालयन शेर्पासँग खेल्नेछ । रंगशालामा मंगलबार भएको पत्रकार सम्मेलनमा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । हिमालयन शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताउनुभयो । हिमालयनका केही खेलाडी घाइते भएपनि फाइनल खेल्न समक्ष रहेको प्रशिक्षक श्रेष्ठको भनाई छ ।
यता मनाङका कप्तान दिप कार्कीले उपाधि जित्न आफ्नो टोली सक्षम भएको प्रतिक्रिया दिनुभयो । उहाँले मनाङसँग युवा खेलाडीहरु धेरै रहेको समेत बताउनुभयो ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा विजेताले १५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् भने उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछन् ।