हिमालयन शेर्पा फाइनलमा, उपाधिको लागि मनाङसंग खेल्ने
८ फागुन, हेटौंडा । हेटौंडामा जारी ५ औं संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लब फाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको दोश्रो सेमिफाइनल खेलमा एभिनिर एफसी क्यामरुनलाई १–० ले हराउँदै हिमालयन शेर्पा पहिलो पटक फाइनलमा प्रवेश हो । खेलको पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेपनि दोश्रो हाफको सुरुमै हिमालयन शेर्पाले गोल गरेको हो । हिमालयन शेर्पाको लागि दोश्रो हाफको ९ औं मिनेटमा सुनिल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच श्रेष्ठ नै घोषित भए । उनले नगद १० हजार प्राप्त गरेका छन् । अब हिमालयन शेर्पाले उपाधिको लागि फागुन १० गते मनाङ मस्र्याङग्दी क्लबसंग खेल्नेछ । मनाङले आइतबार विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ट्राइब्रेकरमा ४–२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।