मनाङ मकवानपुर गोल्डकपको फाइनलमा प्रवेश
७ फागुन, हेटौँडा । हेटौंडामा जारी ५ औं संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा ए डिभिजन क्लब मनाङ मस्र्याङग्दी फाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा आइतबार भएको सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ट्राइब्रेकरमा ४–२ ले हराउँदै मनाङ फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय र इन्जुरी समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय ट्राइबेकरबाट लिएको हो । दुबै टोलीले खेलको सुरुदेखि नै आक्रमक खेलेपनि गोल गर्ने अवसरलाई सदुपयोग गर्न भने सकेन । ट्राइबेकरमा मनाङका सरोज योञ्जन, विसन गुरुङ, सैजामोल डोमिसन र आशिष गुरुङले गोल गरेका थिए । यता एपीएफको तर्फबाट नवीन लामा र सुदिप शिखाकारले गोल गर्दा सनिश श्रेष्ठको प्रहार पोस्ट बारमा लागेर बाहिरिएको थियो भने दिपेश धिमालको प्रहार मनाङका गोलरक्षक दिप कार्कीले बिफल पारिदिएका थिए । खेलमा मनाङका गोल रक्षक दिप कार्की म्यान अफ दि म्यान घोषित भए । उनले नगद १० हजार प्राप्त गरेका छन् । सोमबार हुने दोश्रो सेमिफाइनल खेल एफसी क्यामरुन र हिमालयन शेर्पाबीच हुनेछ । प्रतियोगिताको फाइनल खेलमा फागुन १० गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।