मनाङ सेमिफाइनलमा प्रवेश, घरेलु टोलीको यात्रामा पूर्णबिराम
५ फागुन, हेटौँडा । हेटौंडामा जारी ५ औं संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा ए डिभिजन क्लब मनाङ मस्र्याङग्दी सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा शुक्रबार भएको खेलमा घरेलु टोली रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ लाई २–१ ले हराउँदै मनाङ सेमिफाइनलमा पुगेको हो । घरेलु दर्शकको साथ पाएको मकवानपुर ११ ले पहिलो हाफमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन । मनाङले खेलमा पहिलो हाफको १२ औं मिनेटमा सुमित श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । त्यस्तै ४० औं मिनेटमा विदेशी खेलाडी डियागो डिग्लेले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारे । दोश्रो हाफमा मकवानपुर ११ ले केही सुधारिएको प्रदर्शन गरेको थियो । दोश्रो हाफको ८ औं मिनेटमा मकवानपुरको तर्फबाट विदेशी खेलाडी साहिदेले एक गोल गरेका थिए । खेलमा मनाङका कमल थापा म्यान अफ दि घोषित भए । उनले नगद १० हजार प्राप्त गरेका छन् । यसअघि भएको खेलहरुबाट एफसी क्यामरुन, सशस्त्र प्रहरीको एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । शनिबार क्वाटरफाईनलको अन्तिम खेल फ्रेण्ड्स क्लब र हिमालयन शेर्पाबीच हुनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्तगर्ने छन् ।