बागमती युवा क्लबविरुद्ध हिमालयन शेर्पाको सहज जित
२ फागुन, हेटौंडा । हेटौंडामा जारी ५ औं संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ मा ए डिभिजन क्लब हिमालयन शेर्पा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा मंगलबार भएको खेलमा सि डिभिजन क्लब बागमती युवा क्लब सर्लाहीलाई २–१ ले हराउँदै हिमालयन शेर्पाले अन्तिम ८ मा स्थान बनाएको हो । खेलको सुरु देखि बागमतीलाई दबाबमा राखेको हिमालयन शेर्पाले पहिलो हाफको ३८ औं मिनेटमा विदेशी खेलाडी यामिको गोलबाट सुरुवाती अग्रता लिएको थियो । दोश्रो हाफको १७ औं मिनेटमा निशान लिम्बुले गोल गर्दै हिमालयन शेर्पालाई २–० को अग्रता दिलाएका थिए । बागमतीको तर्फबाट सनम घिमालले दोश्रो हाफको २१ औं मिनेटमा एक गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि टोलीलाई हारबाट भने जोगाउन सकेन । प्रतियोगितामा बुधबारदेखि क्वाटरफाइनलका खेलहरु हुनेछ । पहिलो क्वाटरफाइनलमा बुधबार विदेशी क्लब एभिनिर एफसी क्यामरुनले विरगञ्ज युनाइटेडसंग खेल्नेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्तगर्ने छन् ।