मेलामा बिहिबार २० लाखको कारोबार
१९ माघ, हेटौँडा । हेटौंडा १० टिसिएन चौरमा जारी राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको नवौं दिन विहीबार २० लाख बराबरको कारोबार भएको छ ।
माघ ११ गतेदेखि जारी मेलामा बिहिबार ७ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले जानकारी दिनुभयो । महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुर गढीको रैथाने बाली कोदोको पिठो, विष्कुट, निमकिन, पोखराको खुवा, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर,क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरु समेत विक्रीवितरण भइरहेको उपाध्यक्ष चौलागाईले बताउनुभयो । महोत्सव लाई शिवम सिमेन्टले प्रायोजन गरेको छ भने सह—प्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मी ग्रुप (हुण्डाई) रहेको महोत्सवका मुल संयोजक एवम् मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनुभयो । मेलामा जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेकाछन् भने महोत्सवको सह—आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेको अध्यक्ष गुप्ताले बताउनुभयो ।