निर्वाचन आयोगको गतिविधिप्रति ओली असन्तुष्ट
७ चैत्र, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनसम्बन्धि निर्वाचन आयोगका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनसँग साँठगाँठ गरेर निर्वाचन आयोगले निर्वाचन चिन्हको रङ समेत हरियो बनाउने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । उहाँले काँग्रेसको निर्वाचन चिन्ह रुख हरियो हुने भएकाले आयोगले उनीहरुसँगै परामर्श गरेर निर्वाचन चिन्ह हरियो रङको बनाउने निर्णय गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटव्यूरो बैठकमा बोल्दै अध्यक्ष ओलीले हरियो रङ रुख अनकूल हुने गरी किन निर्वाचन चिन्हको रङ रोज्न परेको भनि निर्वाचन आयोगसँग प्रश्न गर्नु भयो । उहाँले निर्वाचन आयोगसँग आफ्नो पार्टीका लागि रातो सूर्य अनुकूलको रङ राख्न पनि माग गर्नु भयो । दलहरुसँग परामर्श समेत नगरी निर्वाचन आयोगले सत्तारुढ गठबन्धनसँग भित्री साँठगाँठ गरेर निर्वाचन सम्बन्धि तयारीको कामलाई अघि बढाएको अध्यक्ष ओलीको आरोप थियो । उहाँले दलहरुको निर्वाचन चिन्हको रङ ब्लाकेन्टह्वाईट भएको भए मान्य हुने धारणा पनि राख्नु भयो । निर्वाचन आयोगको क्रियाकलापले आगामी निर्वाचनमा भरतपुर काण्ड, सिरहा काण्ड दोहोरिन सक्ने भन्दै मतपेटिकाको सुरक्षा गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई उहाँले सचेत गराउनु भयो ।
अध्यक्ष ओलीले दलहरुसँग परामर्श नगरी निर्वाचन सम्बन्धि कुनै पनि गतिविधि अघि नबढाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भयो । उहाँले आगामी निर्वाचनमा एकल बहुमत ल्याएर तीन वटै तहको सरकार पार्टीले चलाउनुपर्ने भन्दै सोही अनुसारको तयारी गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भयो ।