मकवानपुर जिल्लाभर जेठ १३ गतेसम्म निषेधाज्ञा
३० वैशाख, हेटौंडा । मकवानपुर जिल्लाको १० वटै स्थानीय तहमा निषेधाज्ञा लगाइएको छ ।
यसअघि कोरोना नियन्त्रणका लागि बैशाख ३१ गते सम्म जिल्लाका चार वटा स्थानीय तहमा मात्र निषेधाज्ञा लगाइएपनि जेठ १ गतेबाट भने मकवानपुरका दश वटै स्थानीय तहमा निषेधाज्ञा लगाउने निर्णय भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बिहिबार बसेको बैठकले आगामी जेठ १३ गते राति १२ बजेसम्म लागु हुने गरी जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । निषेधाज्ञामा औषधि उपचार र तोकिएको समयमा सामग्री खरिद गर्नबाहेक जथाभावी हिडडुल गर्न पाइने छैन । खाद्यान्न र तरकारीलगायतका वस्तु खरिद गर्न प्रशासनले बिहान ५ बजेदेखि ८ बजेसम्मको समय निर्धारण गरेको छ । यस्तै, विवाहका लागि जिल्लाभित्र वा जिल्लाबाहिर जानुपर्ने भएमा बढीमा ७ जनासम्म जान आउन सकिने व्यवस्था गरिएको छ । हेटौंडामा संचालित बैंकहरुले भने एक चौथाइ कर्मचारी राखेर मंगलबार र शुक्रबारमात्रै सेवा सञ्चालन गर्न पाउने भएको छ । त्यस्तै, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, तयारी उत्पादन लगायतका वस्तु लोड अनलोडका लागि बिहान १० बजेसम्म दिउसो ३ बजेसम्मको समय तोकिएको छ ।