‘घरेलु मदिरालाई ब्राण्डिङका लागि स्थानीय तहले कानून बनाउन जरुरी’

स्वर्णिम खबर
२४ चैत्र २०८१, सोमबार १९:२५

२५ चैत्र, हेटौँडा । घरेलु मदिरालाई ब्राण्डिङ गरेर बिक्रीका लागि स्थानीय तहले कानून बनाउन जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् ।
आदिवासी जनजाति आयोगको सहकार्य तथा हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सोमबार भएको “परम्परागत ज्ञानसीपको संरक्षण र पुस्तान्तरणमा आदिवासी जनजाति महिलाको भूमिका” विषयक अन्तर्कृया कार्यक्रमका वक्ता एवम् सहभागीहरुले उक्त कुरा बताएका हुन् ।
अन्र्तक्रिया कार्यक्रमलाई सहजिकरण गर्दै आदिवासी जनजाति आयोगका सदस्य रीना रानाले आदिवासी जनजाति समुदायमा रहेको परम्परागत ज्ञान, सीपलाई संरक्षण, प्रवद्र्धनका लागि स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने उल्लेख गर्नुभयो । आदिवासी जनजातिमा निहित परम्परागत ज्ञान, सीपमा आधारित खाद्य तथा पेय पदार्थ उत्पादन, शिल्प कौशल, जडिबुटी र उपचार विधि, शिकारका लागि आवश्यक प्रविधीहरु, साहित्यिक लोक कथा, संस्कार र संस्कृति एवम् प्रथा आदि मौखिक रुपमा पुस्तान्तरण र हस्तान्तरण हुँदै आउनुमा आदिवासी जनजाति महिलाको अहम् भूमिका रहेको उहाँले बताउनुभयो ।
हाल बढ्दो शहरीकरण, बसाइँसराई र आधुनिकीकरणले गर्दा परम्परागत मौलिक पेशा व्यवसाय भन्दा भिन्न पेशामा आकर्षण बढ्नु, स्वदेशी भाषा, संस्कार र संस्कृतिलाई बिर्सदैं जाने र अन्य देशको रहनसहन नक्कल गर्ने प्रवृत्ति बढ्दै जानु जस्ता कारणले गर्दा परम्परागत ज्ञान, सीप लोप हुँदै गइरहेको सदस्य रानाले उल्लेख गर्नुभयो ।
यसैगरी, आयोगका अर्का सदस्य सुर्यबहादुर गुरुङले अभौतिक संस्कृति सूचिकरण गर्ने अन्तर्राष्ट्रिय प्रावधान पारित भएको १५ वर्ष बितिसक्दा पनि नेपालमा एउटा पनि सूचिकृत हुन नसक्नु दुखद् भएको बताउनुभयो । भौतिक साँस्कृतिक सम्पदाहरु सूचिकरण गरे जस्तै अभौतिक संस्कृति पनि दर्ता गर्ने प्रावधान रहेको र सोकालागि स्थानीय तहले शिफारिस गर्नुपर्ने सदस्य गुरुङले बताउनुभयो ।
कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले आदिवासी जनजाति आयोगको गतिविधीहरु आवश्यक बजेटसहितको हुनुपर्नेमा जोड दिनुभयो । आयोग स्थापना हुने तर उद्देश्य पूर्तिका लागि कार्यक्रम र आवश्यक बजेट व्यवस्थापन नहुँदा आयोगको भूमिका कमजोर देखिने गरेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङसहित विभिन्न समुदायगत संस्थाका प्रतिनीधिहरुको उपस्थिति थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु