विशेषाधिकार समितिको औचित्य बारे कोशी प्रदेशका सांसद्को चासो

स्वर्णिम खबर
२४ चैत्र २०८१, सोमबार १७:३९

२५ चैत्र, हेटौँडा । बागमती प्रदेशसभाको शिक्षा, स्वास्थ्य तथा कृषि समिति र कोशी प्रदेश सभाको सामाजिक विकास समितिबीच अन्तरप्रदेश अनुभव आदान–प्रदान कार्यक्रम भएको छ ।
सोमबार प्रदेशसभा सचिवालयमा अनुभव आदानप्रदान कार्यक्रम भएको हो । कार्यक्रममा कोशीका सामाजिक विकास समिति सदस्यहरुले बागमती प्रदेशसभा अन्र्तगत रहेका विशेषाधिकार समितिको औचित्य बारे जिज्ञाशा राखेका थिए । उनीहरुले विशेषाधिकार समितिको उपलब्धि बारे जानकारी पाए कोशीमा पनि समिति निर्माण गर्न मद्धत पुग्ने बताएका छन् । बागमती प्रदेशमा कामको आधारमा संसदीय समितिको नामाकरण भएको भन्दै उनीहरुले प्रशंसा समेत गरे ।
कार्यक्रममा कोशीका सामाजिक विकास समितिका सभापति गयानन्द मण्डल गनगाईले बागमती प्रदेश सरकारको कार्यविधिको बारे जान्न बुझ्न आफुहरुले अवलोकन गरेको बताउनुभयो । बागमतीको हेटौंडा र कोशीको विराटनगर औद्योगिक नगरी भएको उहाँको भनाई छ । सभापति मण्डलले कोशीमा तरकारी खेतीको लागि उर्बर भुमि भएको समेत बताउनुभयो ।
त्यसैगरी बागमती प्रदेशका शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर प्रसाद ढकालले राजनीतिक परिवर्तन पछि जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नमुना योग्य कार्य भइरहेको बताउनुभयो । परिवर्तनको प्रतिफल जनताले कति सम्म प्राप्त गरेका छन्, त्यसको मुल्याङकन गर्न अझ पनि बाँकी रहेको उहाँको भनाई छ । सभापति ढकालले जनतालाई उत्पादनसंग जोड्न नमुना वडा कार्यक्रम सुरु भएको उल्लेख गर्नुभयो । सिमान्तकृत चेपाङ समुदायको जीवनस्तर उकास्न चेपाङ चिउरी कार्यक्रम सञ्चालन गरिएको समेत उहाले बताउनुभयो ।
९३ जना प्रदेश सांसद् रहेको कोशी प्रदेशको सामाजिक विकास समितिले वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत बागमती प्रदेशमा अनुभव आदानप्रदान कार्यक्रम गरेको छ ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु