बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय

२० चैत्र, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेशप्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले आज राती १२ बजे देखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।
सरकारको सिफारिसमा प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रतिपक्षी दलहरुको कारण संसद् चलाउने परिस्थिति निर्माण हुन नसकेको मन्त्री लामिछानेले बताउनुभयो । विगतमा आफैले बनाएको बजेटमा असन्तुष्टि राख्दै पुनः थप बजेट माग गर्नु उचित नरहेको उहाँको भनाइ थियो ।
मन्त्री लामिछानेले आगामी वर्षको लागि नीति कार्यक्रम र बजेटमा समय केन्द्रित गर्नको लागि पनि अधिवेशन अन्त्य गर्नुपरेको बताउनुभयो ।