पत्रकार सुरेश रजकको हत्या र सञ्चार माध्यमहरुमाथि भएको आक्रमणको बिरोध

स्वर्णिम खबर
१५ चैत्र २०८१, शनिबार १३:३७

१६ चैत्र, हेटौँडा । पत्रकार सुरेश रजक र सञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ मकवानपुरले विरोध सभा आयोजना गरेको छ ।
चैत्र १६ गते स्थापना दिवसकै दिन पत्रकार र सञ्चार माध्यममाथि आक्रमण भएपछि महासंघले पूर्व निर्धारित कार्यक्रम स्थगित गरेर विरोधसभा आयोजना गरेको हो । महासंघ मकवानपुरको आयोजना एवम् प्रदेश पत्रकार महासंघको समन्वयमा हेटौँडा–२ पल्पसा हलबाट ¥यालीसहित सिमाचोकमा पुगेर विरोध सभा गरेको थियो । हेटौँडाको पल्पसा सभागृहबाट सुरु भएको पत्रकारहरूको प्रदर्शन मकवानपुर उद्योग बाणिज्य संघ, पिपलबोट, बुद्धचोक हुँदै स्कुरोडमा गएर विरोध सभामा परिणत भएको थियो ।
सभामा बोल्नुहुँदै पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले राजनीतिक मुद्दाका आडमा पत्रकार र सञ्चार माध्यम माथिको आक्रमण नियोजित रूपमा भएको बताउनुभयो । गणतन्त्र ल्याउन २०६२÷०६३ को जनआन्दोलनमा पत्रकारहरुले ठुलो भुमिका निर्वाह गरेको उहाँले बताउनुभयो । सञ्चारकर्मीहरुले कुनै वंशको शासन नचाहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।


त्यसैगरी महासंघका जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले संविधानको परिधी भित्र रहेर शासनसत्ता हातमा लिन पूर्व राजा ज्ञानेन्द्र शाहलाई आग्रह गर्नुभयो । हिंसात्मक गतिविधि त्यागेर २०८४ को चुनावमा राजनीतिक दलहरुसंग प्रतिस्पर्धा गरेर शासन सत्ताको नेतृत्व लिन पूर्व राजा शाहलाई उहाँले आह्वान समेत गर्नुभयो । नागरिकको सम्पत्ति जलाउने राजावादीहरुलाई जनताले विश्वास नगर्ने पनि अध्यक्ष अधिकारीले बताउनुभयो ।
समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा मकवानपुरका पत्रकारहरू आन्दोलित भएका हुन् । कार्यक्रममा गैरसरकारी संस्था महासंघ, नागरिक समाज लगायतका प्रतिनिधिले पत्रकार हत्याको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु