बालबालिकाहरुको चाहना अनुकुल पढ्न पाउने व्यवस्था हुनुपर्छः मन्त्री खड्का

१५ चैत्र, हेटौँडा । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्काले अबको शिक्षा व्यवहारिक, रोजगारमूलक र प्रविधिमैत्री हुनुपर्ने बताउनुभएको छ ।
औपचारिक शिक्षा हासिल गरिसकेपछि विद्यार्थीहरुले तत्काल रोजगार नपाउने र विदेशिनुपर्ने बाध्यात्मक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मन्त्री खड्काले अब दिइने शिक्षा व्यवहारमा लागू हुने, रोजगारमूलक र प्रविधियुक्त हुनुपर्नेमा जोड दिनुभयो । हेटौंडा–२ स्थित सिद्धार्थ मा.विको ४६ औं अभिभावक भेला शुक्रबार हेटौंडामा उद्घाटन गर्दै मन्त्री खड्काले अब कृषि शिक्षालाई नेपालको भूमि सुहाउँदो पाठ्यक्रम बनाएर लागू गर्नुपर्ने र बालबालिकाहरुको चाहना, रुचि, स्वभाव र व्यवहार अनुकुल पढ्न पाउने व्यवस्था लागू हुनुपर्ने बताउनुभयो ।
औपचारिक शिक्षा सकिएपछि व्यक्तिसंग कुनैपनि विषयमा हुनुपर्ने विशेष क्षमता र सीप विकास नहुँदा सरकारको लगानी र अभिभावकको चाहना सफल नभएकोमा उहाँले दुःख समेत व्यक्त गर्नुभयो । मन्त्री खड्काले आगामी दिनमा बागमती प्रदेश सरकारले नयाँ ढंगको शिक्षा प्रणाली लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री खड्काले वर्तमान शैक्षिक प्रणाली सुधारको लागि उद्योग वा रोजगार प्रदायक क्षेत्रहरुसंग समन्वय गरी सोहीअनुसार जनशक्ति उत्पादन गर्ने पाठ्यक्रम विकास गर्नुपर्नेमा उनको जोड थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता तथा १ नं. वडा अध्यक्ष सविन न्यौपाने, २ नंं वडा अध्यक्ष विष्णुगोपाल महर्जन, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षद्वय गुणराज घिमिरे, मधु बजगाई, सिद्धार्थ ल क्याम्पस प्रमुख मोहन शर्मा, विद्यालय सदस्य लक्ष्मी श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।