लोकतन्त्रको विकल्प निरङकुश राजतन्त्र हुन सक्दैनः केन्द्रिय सदस्य राना

१४ चैत्र, हेटौँडा । नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर रानाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हुने बताउनुभएको छ ।
लोकतान्त्रिक संविधान र प्राप्त उपलब्धि विषयमा बिहिबार हेटौंडामा भएको नागरिक समाजसंगको अन्तरसंवाद कार्यक्रममा बोल्नुहुँदै उहाँले लोकतन्त्रको विकल्प निरङकुश राजतन्त्र हुन नसक्ने जिकिर गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रामक व्यवस्थामा मुलुकले गरेको विकासको स्वामित्व सबै लोकतन्त्रवादी दलहरुले लिनुपर्ने उहाँको भनाई छ ।
मकवानपुर इन्चार्ज समेत रहनुभएका रानाले राजतन्त्रको नाममा आम नेपालीको मनोविज्ञानलाई बिगार्ने कुचेष्टालाई सबै पक्ष मिलेर पराष्ट गर्नुपर्ने बताउनुभयो । केन्द्रिय सदस्य रानाले लोकतन्त्र कुनै नारा लगाउने विषय नभई राजनीतिक दलहरुको जीवनशैली भएको धारणा राख्नुभयो । भएका कमजोरीहरुलाई सुधार गरी व्यवस्थालाई सुदुढ बनाउन आफुहरु प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो ।
यसैगरी अन्तरसंवाद कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले राजतन्त्र फर्काउने दिवा सपना नदेख्न चेतावनी दिनुभयो । लामो संघर्ष र बलिदान बाट प्राप्त नेपालको संविधानले राजतन्त्रलाई नचिन्ने भएकोले राजतन्त्र फकिने कुनै सम्भावना नै नरहेको उहाँले दाबी गर्नुभयो । पूर्व मुख्यमन्त्री पौडेलले राजा नै नभएको ठाउँमा राजतन्त्रको पक्षमा वकालत गर्नुको कुनै अर्थ नभएको समेत बताउनुभयो ।
गणतन्त्र आएपश्चात भएका परिवर्तनहरु उजागर हुन नसक्दा पनि प्रतिगामी तत्वहरु सल्बलाएको उहाँको भनाई छ ।
एमाले मकवानपुरको आयोजना एवम् सामाजिक संघ संस्था समन्वय संयन्त्रको संयोजनमा कार्यक्रम भएको हो । नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रिय सदस्य केदार न्यौपाने, भुमि आयोग मकवानपुरका अध्यक्ष बलराम बल, बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ लगायत नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।