पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली

१४ चैत्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउने कुरामा सरकार लागिपरेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा अयाोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालले मौलिक किसिमले शान्ति प्रक्रिया आफैँले शुरु गरेको र आफैँले अगाडि बढाएको बताउनु भयो । उहाँले आफूले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन र सफल पार्न मात्रै चाहेको र त्यसको श्रेय आफूलाई नचाहिने जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले पीडितका घाउमा मल्हम लगाउन र अबबाट नेपालमा अशान्ति हुँदैन भन्नेकुराको ग्यारेन्टी गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले शान्ति प्रक्रियाका बाँकी काम काँग्रेस सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल र आफूबीचको समझदारीमै टुंग्याइने भन्दै समझदारी गर्न आह्वान गर्नुभयो । तीन राजनीतिक दलहरुले संकल्प गर्ने हो भने धेरै समय नलाग्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले सुशासनका लागि सरकार दत्तचित्त भएर लागेको दाबी गर्नुभयो । जनतालाई सन्तुष्ट बनाएर जाने बाटो राजनीतिक दलहरुले लिनुपर्ने बताउनु भयो । उहाँले जनतालाई काममार्फत सन्तुष्ट बनाउनुपर्ने बताउनु भयो । अशान्ती भड्काउने दिशामा नजान सबै राजनीतिक दलहरुसँग उहाँले आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले विगतमा नेपालले ठूलो हिंसा भोगेको जिकिर गर्दै अहिले पनि उक्त हिंसालाई लिएर बिदा मनाउने कुरा किन भइरहेको छ ? भन्दै प्रश्न गर्नुभयो ।