नेपालमा ८५ प्रतिशत भन्दा बढी ज्येष्ठ नागरिक ग्रामीण क्षेत्रमा बस्ने

१० चैत्र, हेटौँडा । नेपालमा ८५ प्रतिशत भन्दा बढी ज्येष्ठ नागरिक ग्रामीण क्षेत्रमा बस्ने गरेको पाइएको छ ।
आइतबार राष्ट्रिय समावेशी आयोगले हेटौंडामा आयोजना गरेको बृद्धाश्रम सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आधार र मापदण्ड विषयक छलफल कार्यक्रममा सो जानकारी दिइएको हो । ग्रामीण क्षेत्रमा बस्ने अधिकाशं ज्येष्ठ नागरिकहरु कृषि पेशामा आबद्ध रहेको र अवसरबाट वञ्चित हुन पुगेको आयोगका सचिव बलराम निरौलाले जानकारी दिनुभयो । अशिक्षा र कमजोर खानपानको कारण ज्येष्ठ नागरिकहरुमा पोषणको समस्या समेत देखिने गरेको उहाँले बताउनुभयो । त्यसैगरी ६५ वर्षभन्दा माथिको उमेरका ज्येष्ठ नागरिकहरु मध्ये ४७ प्रतिशत ज्येष्ठ नागरिकहरु अझै आर्थिक रुपमा सक्रिय रहेको आयोगको अध्ययनले देखाएको छ ।
८० प्रतिशत भन्दा बढी ज्येष्ठ नागरिकहरु छोरासंग बस्ने गरेको र छोरीसंग बस्ने ज्येष्ठ नागरिकहरुको अनुपात २ दशमलब ७ प्रतिशत रहेको आयोगका सचिव निरौलाले बताउनुभयो । २०७८ सालको जनगणना अनुसार नेपालको कूल जनसंख्याको वार्षिक वृद्धिदर ० दशमलब ९२ प्रतिशत रहँदा ज्येष्ठ नागरिकहरुको वार्षिक वृद्धिदर भने ३ दशमलब २९ प्रतिशत रहेको आयोगले जनाएको छ । २०५८ सालको जनगणना अनुसार नेपालमा ज्येष्ठ नागरिकको संख्या कुल जनसंख्याको ६ दशमलब ५ प्रतिशत अर्थात् १५ लाख, २०६८ मा ८ दशमलब १३ प्रतिशत अर्थात् २१ लाख ५४ हजार र २०७८ मा १० दशमलब २१ प्रतिशत अर्थात् २९ लाख ७० हजार रहेको छ ।
ज्येष्ठ नागरिकको जीवन यापनमा समस्या देखिएमा पालन पोषणको कर्तव्य भएको व्यक्तिको आम्दानीबाट मासिक रुपमा सम्वन्धित ज्येष्ठ नागरकको खातामा रकम जम्मा गर्न लगाउने, उजुरी लिने, मेलमिलाप गराउनुपर्ने जस्ता कार्य गर्न स्थानीय तहलाई आयोगले आग्रह गरेको छ । ज्येष्ठ नागरिकको ज्ञान, सीप क्षमता र अनुभवको उपयोग गर्ने खालको नीति ल्याउन आयोगले सरकारलाई सिफारिस गरेको छ । त्यसैगरी ज्येष्ठ नागरिक मैत्री पूर्वाधार र सुविधा विस्तार गरी स्वास्थ्य सेवा र सार्वजनिक यातायातमा सुविधाको प्रबन्ध गर्न समेत सिफारिस गरिएको सचिव निरौलाले बताउनुभयो ।
आयोगकी कार्यबहाक अध्यक्ष विष्णु माया ओझाको प्रमुख आतिथ्यता एवम् हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कँडेल, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।