बागमती प्रदेशका १ लाख २१ हजार भन्दा बढीले श्रम स्वीकृत लिए

स्वर्णिम खबर
७ चैत्र २०८१, शुक्रबार १९:०५

८ चैत्र, हेटौँडा । चालू आर्थिक वर्षको ९ महिनामा बागमती प्रदेशका १ लाख २१ हजार भन्दा बढीले श्रम स्वीकृत लिएका छन् ।
२०८१ श्रावण देखि फागुन मसान्तसम्म बागमती प्रदेशका २९ हजार ७८ महिला सहित १ लाख २१ हजार २९ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । बागमती प्रदेशका १३ जिल्ला मध्ये सबैभन्दा बढी चितवनका र सबैभन्दा कम रसुवा जिल्लाका वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाएको छ ।
चितवनबाट १८ हजार दुई सय ४८ जनाले श्रम स्वीकृत लिएका छन् भने यस अवधिमा रसुवा जिल्लाबाट १ हजार चार सय ७१ जना वैदेशिक रोजगारीमा गएका छन् । मकवानपुर जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या १३ हजार आठ सय ७ जना रहेको सुरक्षित आप्रवासन सामी कार्यक्रम चौंथो चरण परिचयात्मक कार्यक्रम तथा अन्तर स्थानीय तह समन्वय बैठकमा जानकारी गराइएको छ ।
चालू आर्थिक वर्षमा नेपालमा सात लाख ४१ हजार दुई सय ९७ जनाले श्रम स्वीकृत लिएका छन् । यो अवधीमा वैदेशिक रोजगारीमा गएका १ हजार तीन सय ४६ श्रमिकले ज्यान गुमाएका छन् । मकवानपुरबाट पाँच वर्षको अवधीमा वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देश गएका ८० जनाको मृत्यु भएको छ भने ४६ जना अंगभंग भएका छन् । सुरक्षित आप्रवासन योजना सामीका अनुसार यस वर्षमात्रै १५ जनाको मृत्यु भएको छ ।
आप्रवासन श्रोत केन्द्र मकवानपुरमा हाल सम्म दर्ता भएका ६ सय ५४ समस्यामध्य ४ सय ४८ वटा समाधान गरेको उपनिर्देशक डाक्टर भीम प्रसाद तिमल्सिनाले बताउनुभयो । मकवानपुर जिल्लाका ६ वटा स्थानीय तहमा सामी परियोजना लागू भएको छ भने आगामी आर्थिक वर्षबाट १० वटै पालिकामा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु