शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
६ चैत्र २०८१, बिहीबार १८:५२

७ चैत्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले द्धन्द्धकालमा भएका घटनाका कारण पीडित व्यक्तिले छिटोभन्दा छिटो न्याय पाउन भन्नेकुरामा सरकार संवेदनशील एवं गम्भिर रहेको समेत बताउनु भयो । उहाँले वेपत्ता तथा मेलमिलाप आयोग ऐन, २०७१ तेस्रो पटक संशोधन गरिएको समेत स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीहरुको नियुक्ति प्रक्रिया यथासक्य छिटो शुरु गर्ने समेत प्रतिवद्धता जनाउनु भयो । उहाँले द्वन्द्वपीडितको न्यायको लागि सरकार दृढ रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले विकास निर्माणका कामलाई पूरा गर्न वैदेशिक ऋण लिन बाध्य हुनु परेको बताउनुभयो । उहाँले वर्तमान सरकारले देशलाई गरिबीको दयनीय अवस्थाबाट छिटो मुक्त गर्न काम गरी रहेको दाबी गर्नुभयो । असहज आर्थिक अवस्थामा गुज्रिरहेको अवस्थामा वर्तमान सरकार बनेको उहाँको बुझाई छ ।
प्रधानमन्त्री ओलीले उत्पादकत्व बढी भएका ठाउँमा लगानी गर्न ऋणको रकम खर्च भइरहेको बताउनु भयो । कतिपय विकास निर्माणका काम अन्तिम चरणमा रहेको तर ऋण बाहेक अर्को विकल्प नभएको उहाँको भनाइ छ ।
त्यसैगरी प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग भारतसँगको कुटनीतिक माध्यम समाधान गरिने बताउनुभयो । उहाँले ईपीजीको प्रतिवेदन भारतले बुझ्न नमानेका कारण समस्या समाधान गर्न नसकेको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले भारतसम्बन्धी सिमा विवाद कसैलाई समस्या नहुने गरी समस्याको सधैंको लागि समाधान गर्नेगरी कुटनीतिक संवाद र वार्ता गर्नुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले जलन अस्पतालहरुको विस्तार तथा स्तरोन्नति गर्नको लागि समेत सरकारले काम गरिरहेको समेत दाबी गर्नुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु