भौगोलिक अवस्थाको कारण टुक्रे योजनालाई अगाडि बढाउनुपर्ने बाध्यता छः मन्त्री खड्का

स्वर्णिम खबर
६ चैत्र २०८१, बिहीबार १६:१६

७ चैत्र, हेटौँडा । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिचाई मन्त्री श्यामबहादुर खड्काले जनताले सेवा, सुविधा पाउने योजनाहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
बिहिबार हेटौंडामा भएको खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयको दोश्रो चौमासिक समीक्षा कार्यक्रममा बोल्नुहुँदै मन्त्री खड्काले राजनीतिक पहुँचको आधारमा नभई आवश्यकताको आधारमा योजनाहरु छनोट गर्नुपर्ने बताउनुभयो । आयोजना बैंक स्थापना पश्चात् विगतमा जस्तो टुक्रे योजनाहरु कम हुने उहाँको भनाई छ तर जनताले सेवा पाउने, नगरी नहुने टुक्रे योजनाहरुलाई खानेपानी मन्त्रालयले भने अगाडि बढाउने मन्त्री खड्काले बताउनुभयो । भौगोलिक अवस्थाको कारण पनि ५ लाखको योजनालाई अगाडि बढाउनुपर्ने बाध्यता रहेको उहाँले जिकिर गर्नुभयो ।
मन्त्री खड्काले नयाँ योजना सिफारिस गर्ने भन्दा पनि विगतदेखि नै अधुरा रहेका योजनाहरुलाई सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकार अहिले बजेट बनाउने चरणमा रहेको बताउनुहुँदै उहाँले अधुरा योजना सम्पन्न गर्न लाग्ने अनुमानित लागत पेश गर्न पनि डिभिजन प्रमुखहरुलाई आग्रह गर्नुभयो । मन्त्री खड्काले कामको सिलसिलामा देखिएका बेरुजु रकमहरुलाई पनि कम गर्ने गरी काम गर्न निर्देशन दिनुभयो ।
मन्त्री खड्काले गत असोजमा आएको विपद्को कारण ३ अर्ब ४३ करोडको संरचना ध्वस्त भएको समेत बताउनुभयो । मन्त्रालयका सचिव मोहन कुमार शाक्यको सभाध्यक्षतामा भएको कार्यक्रममा जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय तथा खानेपानी सरसफाईका प्रमुखहरुले कार्य प्रगति प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु