स्वास्थ्य मन्त्रालयको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधि सम्मको प्रगति विवरण सार्वजनिक

५ चैत्र, हेटौँडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधीसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ ।
मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै विवरण सार्वजनिक गरेको हो । विवरण अनुसार मन्त्रालयले चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा कुल बजेटको ३६ दशमलव २४ प्रतिशत रकम खर्च गरेको छ ।
चालूतर्फ कुल बजेटको ३९ दशमलव ०९ प्रतिशत र पूँजीगततर्फ १९ दशमलव ८६ प्रतिशत खर्च गरेको मन्त्रालयका प्रवक्ता डाक्टर खगेश्वर गेलालले जानकारी दिनुभयो । कार्यालय गत रुपमा ६५ प्रतिशत सम्म वित्तिय प्रगति भएको उहाँले बताउनुभयो । आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयका लागि ४ अर्ब ८ करोड बजेट विनियोजन गरिएको छ । यस अवधिमा मन्त्रालयले प्रदेश जनसंख्या नीति र प्रदेश स्वास्थ्य क्षेत्र रणनीतिक योजना तयारका लागि मस्यौदा तयार पारेको छ ।
सिमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित व्यक्ति लगायत लक्षित वर्गका लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि ८ करोड २५ लाख रकम स्वास्थ्य बीमा कार्यालय बागमती प्रदेशलाई भूक्तानी गरेको छ । यसका साथै सिमान्तकृत तथा लोपोन्मुख समुदायमा पूर्ण खोप लगाएका बालबालिकाका आमाहरुलाई उत्प्रेरणा स्वरुप ५ हजार प्रदान गरेको छ । मन्त्रालयले प्रदेशका ५ वटा स्थानीय तहलाई ग्रामीण अल्ट्रसाउण्ड मेसिन प्रदान गरेको प्रवक्ता गेलालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले मन्त्रालय मातहत रहेका सबै प्रादेशिक अस्पताल, जनस्वास्थ्य कार्यालय र आयूर्वेद तथा वैकल्पिक चिकित्सालयका सेवा सुधारमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । मन्त्रालयले हालसम्म ८ सय ४८ सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम बिस्तार गरेको मन्त्री थापाले जानकारी दिनुभयो ।
मंगलबार नै मन्त्रालयले स्वास्थ्य संस्था दर्ता र नवीकरण प्रणालीको शुभारम्भ समेत गरेको छ ।