पूर्वविशिष्टहरुलाई आजीवन सुविधाबारे गृहमन्त्रीः राज्यकोषमा आर्थिक भार पर्न दिदैनौँ

४ चैत्र, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले देशका पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनको लागि विधेयकको मस्यौदा लेखन शुरु भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरुले उठाउनुभएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले सर्वोच्च अदालत र संसदीय समितिले समेत विधायिकी कानून बनाएर मात्र सुविधा दिन निर्देशन गरेको कारण कानून निर्माणमा जुटेको बताउनु भयो ।
उहाँले यस कदमको चौतर्फि आलोचना भइरहेको उल्लेख गर्दै कानूनै नबनाइकन सरकारले निर्णय गरेर दिनेकुरा उचित हो कि सदनबाट कानून बनाएर दिनेकुरा जाति हो ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले पूर्वविशिष्टहरुलाई सुविधा दिँदा मुलुकको राज्यकोषमा अनावश्यक भार नपर्नेगरी कानून बनाउन लागिएको स्पष्ट पार्नुभयो ।
मुलुकको आर्थिक स्थितिबारे सरकार जानकार रहेको उल्लेख गर्दै मन्त्री लेखकले मुलुकको आर्थिक अवस्थामा प्रतिकुलता उत्पन्न हुने काम नगरिने बताउनु भयो ।