हेटौडा १२ घिसिङ टोलमा स्ल्याब ढलान सुरु

२ चैत्र, हेटौँडा । हेटौडा–१२ स्थित बीचरोड देखि विनोद वाइवाको घर हुँदै घिसिङटोल चौतारा जोड्ने सडकमा स्ल्याब ढलान कार्य सुरु भएको छ ।
उक्त योजनाको बागमती प्रदेश सरकारका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले शुभारम्भ गर्नुभएको हो । प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को विनियोजित २० लाख रुपैयाँको बजेटबाट ६ मिटर चौडा रहेको २२० मिटर लामो स्ल्याब ढलान सुरु भएको हो ।
निर्माण कार्यको सुरुवात गर्दै पूर्वमन्त्री एवं सांसद श्रेष्ठले बजेटको पूर्ण सदुपयोग गर्दै गुणस्तरीय निर्माण कार्यको लागि उपभोक्ता समितिलाई निर्देशन दिनुभयो । उहाँले हेटौडा उपमहानगरमा पछि गाभिएका वडाहरूको विकासका लागि भौतिक पूर्वाधार, कृषि, सिंचाई लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारबाट बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।
१२ नम्बर वडाका निर्वाचित वडा सदस्य महेश भट्टराईले प्रदेश सरकारबाट हेटौडा १२ नम्बर वडाको समग्र विकासको लागि थुप्रै योजनाहरू पार्न विशेष भूमिका खेल्नुभएको भन्दै सांसद श्रेष्ठको प्रशंसा समेत गर्नुभयो ।
यस योजनामा हेटौडा उपमहानगरपालिकाले थप बजेट विनियोजन गरेको र जसबाट करिब १०० मिटर स्ल्याब थप हुने उपभोक्ता समिति अध्यक्ष बिरन घिसिङले जानकारी दिनुभयो । कार्यक्रममा हेटौडा १२ को उपनिर्वाचनमा वडाध्यक्षका प्रत्याशी राजेश नगरकोटी, स्थानीय समाजसेवी अर्जुनप्रसाद अर्याल, विनय मगर लगायतको सहभागिता थियो ।