न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छः सांसद् सिंह

स्वर्णिम खबर
१ चैत्र २०८१, शनिबार १७:१७

२ चैत्र, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् दिपकबहादुर सिंहले देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको बताउनुभएको छ ।
न्यायलयहरुमा कांग्रेस, एमाले, माओवादीका कार्यकर्ताहरु भर्ती भएको उहाँको बुझाई छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुर जिल्ला कमिटीको शनिबार हेटौंडामा भएको अधिवेशनको उद्घाटन सत्रमा बोल्नुहुँदै उहाँले देशमा न्याय मरेको टिप्पणी गर्नुभयो । माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटामाथिको अपहरण तथा ज्यान मार्ने मुद्दाको फाइल न्यायधीशहरुले खोल्ने आँट नगरेको समेत उहाँले आरोप लगाउनुभयो । सांसद् सिंहले अवस्था र व्यवस्थाको परिवर्तन आजको आवश्यक भएको जिकिर गर्नुभयो ।


सांसद् सिंहले प्रदेश संरचनालाई देशले धान्न नसक्ने बताउनुभयो । संघीयता नै खारेज गर्नुपर्छ भन्ने आफुहरुको मुल्य र मान्यता रहेको उहाँले जिकिर गर्नुभयो । अवस्था र व्यवस्था परिवर्तन गर्न सबैले पूर्व राजा ज्ञानेन्द्र शाहको आह्वानलाई साथ दिन पनि उहाँले आग्रह गर्नुभयो । सांसद् सिंहले सबै जात र धर्मलाई संरक्षण गर्नको लागि राजसंस्था बाहेक अर्को विकल्प नभएको समेत बताउनुभयो ।
सांसद् सिंहले अब पार्टीको नेतृत्व युवा पंक्तिहरुले गर्नुपर्ने बताउनुभयो । अधिवेशनले किशोर खत्रीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यंसमिति समेत चयन गरेको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु