स्वरोजगार मजदुर बचाउन ‘स्टीकर प्रणाली’ सफलः संयोजक न्यौपाने

१ चैत्र, हेटौँडा । तीन पाङ्ग्रे सवारी सञ्चालन गरेर गुजारा गर्दै आएका स्वरोजगार मजदुरलाई बचाउन हेटौंडा उपमहानगरपालिकाले ल्याएको ‘स्टीकर प्रणाली’ सफल भएको तीन पाङ्ग्रे व्यवस्थापन समिति संयोजक सविन न्यौपानेले बताउनुभएको छ ।
हेटौंडा उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका तीन पाङ्ग्रे सवारीसाधनलाई व्यवस्थापन गर्न न्यौपानेको संयोजकत्वमा उपसमिति नै बनाएर विगत तीन वर्षदेखि निरन्तर कार्य गर्दै आएको छ । पहिलो चरणमा हरियो, दोश्रो चरणमा पहेंलो र तेस्रो चरणमा सेतो स्टीकर प्रदान गरेर नगरभित्र सञ्चालन अनुमति प्राप्त अटो तथा ई–रिक्सालाई चिन्ने गरी तथ्याड्ढ व्यवस्थापनमा नगर सफल भएको न्यौपानेले बताउनुभयो ।
स्वरोजगार यातायात मजदुर मकवानपुर प्रा.लिको चौथो वार्षिकोत्सव शुक्रबार हेटौंडामा उद्घाटन गर्दै संयोजक न्यौपानेले स्टीकर प्रणाली लागू भएको तीन वर्षमा यसले व्यवस्थित रुप धारण गरेको उल्लेख गर्नुभयो ।
उहाँले यसबीचमा छुट्टै सेवा केन्द्र नै स्थापना गरेर हेटौंडा उपमहानगरपालिकाले तीन पाङ्ग्रे सवारी सञ्चालन गर्दै आएका एक हजार आठसय ६० जना मजदुरको चुल्हो बाल्ने व्यवस्थापन गरेको बताउनुभयो ।
संयोजक न्यौपानेले तीन पाङ्ग्रे सवारी चलाउने मजदुरहरु भनेको हेटौंडा उपमहानगरपालिकाको अनुहार भएको उल्लेख गर्नुभयो । संयोजक न्यौपानेले आ–आफ्नो गाडिमा सन्देशमूलक र पर्यटकीय क्षेत्रको प्रचारमूलक सामग्रीबाहेक अन्य जथाभावी नलेख्न पनि सुझाव दिनुभयो ।
उहाँले गैरकानूनी सामग्री बोक्ने र आपराधिक कार्यमा संलग्न गराउन खोज्ने यात्रुहरुबाट सजग रहन पनि ध्यानाकर्षण गराउनुभयो ।
प्रा.लिका अध्यक्ष राकेश कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा दुर्घटना नगरी, अनुशासित ढंगले तीन पाङ्ग्रे सञ्चालन गर्ने सुवास लामिछाने, देवबहादुर कार्की र बन्दना बानियाँलाई नगद र प्रशंसापत्रले सम्मानित गरिएको थियो । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष रामशरण घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त राख्नुभएको थियो ।