राजसंस्था र लोकतन्त्र एक अर्काको विरोधी होइनः अध्यक्ष लिङ्देन

स्वर्णिम खबर
३० फाल्गुन २०८१, शुक्रबार १७:३९

१ चैत्र, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा पुगेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले राजसंस्था र लोकतन्त्र एक अर्काको विरोधी नभएको बताउनुभयो । अध्यक्ष लिङदेनले वर्तमान राजनीतिमा जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरुले भ्रम सिर्जना गरेको आरोप लगाउनुभयो ।
राजसंस्था र प्रजातन्त्र एकआपसमा परिपूरक भएको भन्दै सञ्चारमाध्यमहरुले उचित सुझाव दिएर आफ्नो कर्तव्य पूरा गर्नुपर्ने उहाँको भनाई छ । अध्यक्ष लिङदेनले नेपालमा संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गर्न सकिने जिकिर गर्नुभयो ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा संवैधानिक राजसंस्था र जनताको सर्वोच्चता सहितको प्रजातन्त्र आवश्यक भएको बताउनुभयो । उहाँले राजनीतिक दलहरुले जनताका नाममा जनताकै शोषण गरेकाले वर्तमान राजनीतिक प्रणालीमाथि आवाज उठेको जिकिर गर्नुभयो । उहाँले वर्तमान सरकारले संविधानको दुरुपयोग गरेर संविधान विरोधी कार्य गरेको आरोप लगाउनु भयो ।
पूर्वअध्यक्ष डा. लोहनीले नेपालका सञ्चारमाध्यमहरुले सान्दर्भिक विषयमा समाचार संप्रेषण नगरेर पक्षपाती व्यवहार गरेको आरोप लगाउनु भयो ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु