मानव सेवा आश्रमले चैत्र १७ गतेदेखि २४ गतेसम्म महायज्ञ गर्ने

१ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नंं ९ स्थित मानव सेवा आश्रमको मुख्य कार्यालयको क्षमता अभिवृद्धि र आश्रम व्यवस्थापनलाई थप सहज बनाउन महायज्ञ हुने भएको छ ।
शुक्रबार कार्यालयमा पत्रकार सम्मेलन गरी आश्रमले यही चैत्र १७ गतेदेखि २४ गतेसम्म श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ हुने जानकारी दिइएको हो । महायज्ञबाट उठेको रकमबाट अहिले रहेको ५ करोडमा थप ५ करोड थपी १० करोडको अक्षयकोष स्थापना गरिने बताइएको छ ।
विभिन्न संघसंस्थासंगको सहकार्यमा किचन, डाईनिङ हल, कोल्ड स्टोर सहितको भवन पुननिर्माण गर्ने लक्ष्यको साथमा महायज्ञ आयोजना गर्न लागिएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । त्यसैगरी २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको संकल्पलाई पुरा गर्नको लागि समेत आधार तयार पार्न महायज्ञले सहयोग पु¥याउने उहाँको भनाई छ ।
महायज्ञको पहिलो दिन चैत्र १७ गते बिहान ८ बजेदेखि राप्तीतटस्थित गोरक्षश्वर धामबाट कलश यात्रा निकालिने महायज्ञ मुल समारोह समितिका संयोजक बद्रीनाथ शर्माले जानकारी दिनुभयो । प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म भागवत श्री कमलनयन गौतमबाट कथा प्रवचन हुने उहाँले बताउनुभयो । महायज्ञ सम्पन्न गर्न २० देखि ३० लाख खर्च हुने अनुमान आश्रमले गरेको छ ।
हेटौंडामा हुन लागेको यो महायज्ञ १० औं हो । यसअघि आश्रमले चितवन, लमजुङ, पोखरा, बुटवल, दाङ, सुर्खेत, बुटवल, धनगढी र सर्लाहीमा महायज्ञ गरिसकेको छ । हेटौंडा स्थित कार्यालयले हालसम्म १ हजार ७ सय ९६ जनाको उद्धार गरिसकेको छ भने २ सय ३८ जना अझै पनि आश्रित छन् ।