कानुन बनाएरै बागमती प्रदेश सरकारले विकास निर्माण कार्यको अनुगमन गर्ने

२७ फागुन, हेटौँडा । बागमती प्रदेश सरकारले कानुन बनाएरै विकास निर्माण कार्यको अनुगमन गर्ने भएको छ ।
प्रदेशमा भएका विकास निर्माणको कामलाई अनुगमन, नियमन तथा नियमन र मूल्याङ्कनका लागि प्रदेश सरकारले कानुन निर्माण प्रक्रिया अघि बढाउन लागेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमती दिएको खानेपानी, उर्जा तथा सिचाई मन्त्री श्यामबहादुर खड्काले जानकारी दिनुभयो ।
यसैगरी बैठकले अन्य ६ वटा प्रस्तावहरु स्वीकृत गरेको मन्त्री खड्काले बताउनुभयो । बैठकले नेपाल सरकारको नाममा भक्तपुर जिल्ला स्थित नखेलमा रहेको १० रोपनी जग्गा मध्ये ५ रोपनी जग्गा र सूर्यविनायक नगरपालिका वडा नम्बर ७ मा रहको ७ रोपनी ७ आना दुई पैसा जग्गा प्रशासनिक कार्य सञ्चालनका लागि माग गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
बैठकले खानेपानी क्षेत्रगत सूचना प्रणालीमा आधारित बागमती प्रदेशको स्थानीय तहको खानेपानी सरसफाई तथा स्वच्छता योजना तर्जुमा सम्बन्धी कार्यविधि २०८१ स्विकृत गरेको छ । त्यस्तै, चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका पहिलो संसोधन पारित गरेको छ । बैठकले प्रदेश बालअधिकार समिति सदस्यमा ५ जनालाई मनोनित गरेको छ ।
सदस्यहरुमा बाल कल्याण समाज मकवानपुरका प्रकाश खतिवडा, सिविन बाल हेल्प लाइन मकवानपुरका झविन्द्र ज्ञवाली, काठमाडौंका अन्जनी श्रेष्ठ, राजाराम सापकोटा, र चितवनकी मन्जु वैरागी रहेका छन् । बैठकले संघीय सरकारबाट सरुवा भएर आउनुभएका विनु बज्राचार्य र कृष्ण बहादुर साहीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।