भीमफेदीमा अनौपचारिक क्षेत्रमा कार्यरत ९९ श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

२६ फागुन, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले यस वर्ष अनौपचारिक क्षेत्रमा कार्यरत ९९ श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ ।
सिकर्मी, डकर्मी, कृषि मजदुर र सवारीसाधनमा काम गर्ने श्रमिकलाई पालिकाले कोषमा आबद्ध गराएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चालु आर्थिक वर्षमा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यक्रमको सोमबार शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा मुख्यमन्त्री लामाले गाउँपालिकाको यो कार्य उदाहरणीय रहेको बताए । यसले उनीहरुको जीवन र परिवारमा सहजता आउने उहाँको भनाइ छ । यो कार्य भीमफेदी गाउँपालिकाले मात्र नभई प्रदेशका १ सय १९ वटै पालिकाले अनुसरण गर्नुपर्ने मुख्यमन्त्री लामाको धारणा छ ।
भीमफेदी गाउँपालिकाले गत आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई समावेश गर्दै आइरहेको छ । पालिकाले गत वर्ष अनौपचारिक क्षेत्रका ९८ श्रमिकलाई कोषमा आबद्ध गराएको थियो । चालु आर्थिक वर्षका लागि योगदानमा आधारित श्रमिक कोष शीर्षकमा २५ लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो ।