पत्रकार महासंघ जिल्ला समिति मकवानपुरको ८ बुँदे घोषणा पत्र जारी

२३ फागुन, हेटौँडा । नेपाल पत्रकार महासंघ जिल्ला समिति मकवानपुरले ८ बुँदे घोषणा पत्र जारी गरेको छ ।
फागुन २२ र २३ गते मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ स्थित सिम्लाङमा बसेको बैठकले पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकास र समृद्धिका लागि ८ बुँदे घोषणा पत्र जारी गरेको हो ।
श्रमजीवी पत्रकार तथा नागरिक समाजको अग्रणी संस्था भएका नाताले महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भएका र हुनसक्ने सबैखालका हस्तक्षेपको विरोध गर्ने जनाएको छ । महासंघ पत्रकारिता क्षेत्रमा हुने विकृति र विसङ्गतिलाई निर्मुल पार्न प्रतिवद्ध रहेको अध्यक्ष बालकृष्ण अधिकारीले बताउनुभयो । सकारात्मक पत्रकारिताको माध्यमबाट समाजलाई जागृत गर्ने कार्यमा लाग्न सबै पत्रकारहरुलाई उहाँले आग्रह समेत गर्नुभयो ।
साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा महिला नेतृत्वको सञ्चार माध्यमको दिगो र भरपर्दो विकासका लागि विशेष ध्यान दिन समेत महासंघले स्थानीय तथा प्रदेश सरकारलाई आग्रह गरेको छ । संघ, प्रदेश र स्थानीय सरकारलाई समानुपातिक विज्ञापन नीति लागु गर्नुका साथै स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउनुपर्ने बाध्यकारी व्यवस्था गर्न सरकारसँग माग गर्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।त्यसैगरी पत्रकारहरुको क्षमता अभिवृद्धिमूलक रचनात्मक नीति तथा कार्यक्रम ल्याउने र भइरहेका क्षमता अभिवृद्धिका कार्यक्रमहरुलाई अझ व्यवस्थित ढंगले सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गर्ने महासंघका सचिव केशव समर्पण सुवेदीले बताउनुभयो । साथै पत्रकारिता विषयमा उच्च शिक्षा अध्ययन गर्न चाहने पत्रकारहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्न स्थानीय तह र बागमती प्रदेश सरकारसँग पनि महासंघले माग गरेको छ ।
मकवानपुरका सबै स्थानीय तहहरुले पत्रकारिता क्षेत्रको प्रवद्र्धनको लागि आवश्यक बजेट व्यवस्थापन गर्न पनि महासंघले आग्रह गरेको छ । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाको सिम्लाङ, मार्खु, थाहा नगरपालिकाको चित्लाङ, दामन, सिमभन्ज्याङ क्षेत्रको आवश्यक प्रचारप्रसारका लागि व्यवस्था गर्न, पर्यटनसँग स्थानीय जनताको आय आर्जनलाई जोड्नका लागि व्यवसायिक तालिमको व्यवस्था गर्नुका साथै सो क्षेत्रको पर्यटन विकासमा सबै सरोकारवालाले ध्यान दिन पनि महासंघले आग्रह गरेको सचिव सुवेदीले जानकारी दिनुभयो ।