हेटौंडा एकेडेमीले २६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने

२१ फागुन, हेटौँडा । हेटौंडा उपमहानगरपालिका ११ स्थित हेटौंडा एकेडेमीले विद्यालयको २६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ ।
शिक्षा संगसँगै खेलकुद भन्ने नाराका साथ विविध खेलकुद गतिविधि गर्दै आएको एकेडेमीले फागुन २३ गते शुक्रबार अभिभावक दिवस मनाउन लागेको हो । बुधबार विद्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै अभिभावक दिवसको तयारीका बारेमा जानकारी गराइएको छ ।
बागमति विश्वविद्यालयका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणी पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले जानकारी दिनुभयो । कार्यक्रममा एलआरआई स्कुलका संस्थापक प्राचार्य शिवरान पन्त, चितवन मेडिकल कलेज भरतपुरका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्राध्यापक डाक्टर हरिशचन्द्र न्यौपाने र विद्यालयका परिकल्पनाकार बागमति प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल लगायतको उपस्थिती रहने उहाँले बताउनुभयो ।
दिवसका दिन विद्यार्थीहरुबाट बृहत् साँस्कृतिक प्रदर्शनी, विज्ञान तथा प्रवधि प्रदर्शनी, हस्तकला प्रदर्शनी, चित्रकला प्रदर्शनी, पुस्कल मेलाका साथै खेलकुद सामग्रीहरुको प्रदर्शनी एवम् खाना महोत्सव समेत हुने अध्यक्ष सुमार्गीले बताउनुभयो । एकेडेमीमा नेपाल फुटबल संघ एन्फा एकेडेमी, राष्ट्रिय सेवा दल र नेपाल स्काउटका कार्यक्रम सञ्चालन हुँदै आएको छ । विद्यालयमा हाल ७ सय २ जना जना विद्यार्थी अध्ययन गर्दै आइरहेका छन् ।