फागुन २४ गते हेटौंडामा म्युजिक फर कज हुने

२० फागुन, हेटौँडा । हेटौंडामा ‘म्युजिक फर कज’ कार्यक्रमको आयोजना हुने भएको छ ।
यही फागुन २४ गते शनिबार हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा कार्यक्रमको आयोजना गर्न लागिएको हो । मिस्टर नेपाल २०२४ का सेकेन्ड रनरअप भएका मकवानपुरका आयुष बम्जनको अगुवाईमा कार्यक्रम हुन लागेको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा जानकारी गराइएको हो ।
मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउँदै संगीतको माध्यमबाट स्रोताहरुलाई आनन्दित बनाउन कार्यक्रम गर्न लागिएको बम्जनले बताउनुभयो । कार्यक्रममा एकसय जना बाद्यवाधकले सामुहिक रुपमा आफ्नो प्रश्तुती दिनेछन् । कार्यक्रमबाट पैसा कमाउने उद्देश्य नरहेको प्रष्ट पार्दै बम्जनले बचेको रकम हेटौंडा १५ मा रहेको बृद्धाश्रमलाई सहयोग गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी हुने बाद्यवाधक सँग नै २ सयका दरले रकम संकलन गरिएको छ । हेटौंडा बाहिरबाट समेत १८ जना बाद्यबाधक कार्यक्रममा सहभागी हुन आउनेछन् । कार्यक्रममा सहभागी हुन चाहनेका लागि निशुल्क प्रवेशको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ । आयोजक टिममा सामुयल भोलन, निश्चल मानन्धर लगायत रहेका छन् ।